शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

जसपाको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग गरियो

आजकोकुरा: मंसिर ८, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा पार्टीभित्र छलफल नै नगरी आफूखुशी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ ।केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् ।

प्रदेश २ सरकारको मन्त्रीबाट केही साता अघि पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफल नगरी बिना कारण मन्त्री पदबाट हटाएर आफ्नो अपमान गरिएको गुनासो पोखेका छन् ।

केही कार्यकारिणी समिति बैठकमा डा.बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर केही नेताले समेत मुख्यमन्त्री राउतको राजीनामा माग गरेको पार्टी श्रोतको दाबी रहेको छ ।साथै, उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको पनि कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार पार्टीभित्र विधि तथा पद्धतिको मजाक उडाइएको नेताहरुको आरोप थियो ।

यसैगरी,, बैठकमा हिसिला यमी, नवराज सुवेदी, रामनरेश राय यादवले पार्टीमा संस्थागत निर्णयबिना अगाडि बढ्ने परिपाटीको विकास हुँदै जानु पार्टीकै भविष्यका लागि घातक हुने बताएका थिए । पार्टीमा विधि अनुशरणको अभाव देखिएको भन्दै प्रदेश सरकारबाट मन्त्री हटाउने कार्य स्वेच्छाचारिकताको उदाहरण भएको जसपा नेतृ हिसिला यमीले बताइन् ।
सो बैठकमा मुख्यमन्त्री लालबाबु राउतले भने आफ्नो बचाउ गरेको एक नेताले बताए ।

त्यस्तै, एक नेताले बताए अनुसार बैठकले कार्यकारिणी समितिमा १२ जनालाई थप गर्ने निर्णय गरेको छ । कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला पुर्याउनका लागि संख्या थप गर्न लागिएको हो । समितिमा १६ जना थप गर्नुपर्ने भएतापनि हाललाई १२ जनामात्र थप गर्ने निर्णय भएको छ ।
समितिको बैठकमा पूर्वमन्त्री राजकिशोर यादव, मुख्यमन्त्री लालबाबु राउत, नवराज सुवेदी, गंगा श्रेष्ठ, अमृता अग्रहरि, गजाधर यादव लगायतले आ–आफ्ना मन्तव्य राखेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com