बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

प्रदेश १ का मुख्यमन्त्री राइसँग ५ आना मात्र जग्गा

आजकोकुरा: पुस २९, मोरंग । प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण पेश गरेका छन् । यसरि उनीहरुले पेश गरेको सम्पत्ति विवरण आधारमा सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्री राजेन्द्र राईको रहेको छ ।

जसअन्तर्गत मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा बाबुबाट प्राप्त गरेको पाँच आना जग्गा रहेको विवरण पेश गरेका छन् भने उनको श्रीमती शोभा पाठकको नाममा ६७ लाख ७० हजार रहेको छ । त्यस्तै उनको आफ्नै नाममा दुई वटा बैंकको खातामा १९ लाख रुपैयाँ मात्र रहेको सम्पति विवरणमा उल्लेख गरिएको छ।

यसैगरी, मुख्यमन्त्री राईले दुवै बैंकको रकम तलब भत्ताबाट आम्दानी भएको र श्रीमतीको खातामा भएको रकमको स्रोत भने स्कुलको स्वामित्व बिक्री र माइती पक्षबाट पाएको पनि उल्लेख गरेका छन् ।साथै, मुख्यमन्त्री राईसँग १० तोला सुन र एउटा मोटरसाइकल रहेको समेत सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

त्यसैगरी,प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको भने मोरङका विभिन्न स्थानमा ११ वटा घडेरी देखिएको छ ।

स्थायी घर बुढीगंगा गाउँपालिका– २ भएका कार्कीले विराटनगरको मुख्य बजारको सात ठाउँमा जग्गा जोडेका छन् । ती घडेरी उनको पत्नी शान्तादेवी बस्नेतको नाममा रहेको छ ।

जसमा विराटनगर महानगरपालिका– ७ को मुख्य बजार क्षेत्रमा ६ वटा घडेरी र विराटनगर– ९ बखरीमा एक विघा २ कट्ठा दुई धुर जग्गा मन्त्री कार्कीकी पत्नी बस्नेतको नाममा रहेको छ ।
त्यस्तै,बुढीगंगा गाउँपालिका– २ मा घर भएको जग्गाबाहेक ८ धुर, ११ धुर गरी दुई कित्ता र बुढीगंगा गाउँपालिका–८ मा तीन कट्ठा जग्गा पनि छ ।
उनकी पत्नी कृषि विकास बैंकको जागिरे रहेको छिन् ।

कार्कीले बुढीगंगाको घर जग्गालाई पैत्रिक रहेको विवरण पेस गरेका छन् भने बुढीगंगाको घडेरी जागिर, बोनस र ऋण गरेर किनेको उल्लेख गरेका छन् ।साथै, विराटनगरको सात ठाउँको जग्गा भने घडेरी र जमिन बिक्रीबाट खरीद गरेको पनि उल्लेख गरेका छन् ।

यस्तै,उनको सम्पत्ति विवरणमा २५ तोला सुन र ८० तोला चाँदीका साथै परिवारका सदस्यको ३६ वटा कम्पनीमा शेयर रहेको पनि उल्लेख गरिएको छ ।

साथै,कार्कीको बैंकमा वचत एक लाख रुपैयाँ छ भने श्रीमतीको कृषि बिकास बैंकमा रहेको खातामा २३ लाख ८ हजार र एभरेष्ट बैंकमा ८२ हजार रहेको छ । छोरा शाकेतबाबु कार्कीको नाममा १ लाख १२ हजार र शाब्दिकबाबु कार्कीको नाममा ३ लाख ४७ हजार रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यसैगरी,आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले पसल, जलविद्युत आयोजना र बङ्गुर फर्ममा लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । साथै,उनले आफूसँग २ करोड ९० लाख रुपैयाँ ऋण रहेको जनाएका छन् ।

दोस्रो पटक पनि आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बोले गत आर्थिक वर्षको तुलनामा यो वर्ष अझ ४२ लाख ऋण बढेको उल्लेख गरेका छन् ।

उनको श्रीमती कुमारी लावतीको नाममा पालुङ खोला हाइड्रोमा १० प्रतिशत सेयर रहेको छ भने मिक्लाजुङमा दुई विघा क्षेत्रमा बङ्गुर फर्म चलाएको जसमा २५० वटा बङ्गुर र ३० लाख लगानीमा फेन्सी कपडा पसल खोलेको पनि विवरण भरेका छन् ।

यस्तै,आङ्बोको दाजुको नाममा फिदिममा १० रोपनी, झापामा श्रीमती कुमारी लावतीको नाममा चार कट्ठा जग्गा र घर रहेको पनि उल्लेख गरेका छन् ।

यसैगरी,फिदिममा बुबा नरेन्द्रप्रसाद आङ्बोको नाममा ५० रोपनी रहेको विवरण पेश गरेका छन् भने मन्त्री आङ्बोसँग १० तोला सुन र २० तोला चाँदी रहेको पनि उल्लेख छ ।

मन्त्री आङ्बोले नेपाल इन्भेष्टमेन्ट बैंकमा २ करोड ३५ लाख र एनएमबी बैंकमा ५५ लाख ऋण रहेको पनि उल्लेख गरेका छन् । साथै,गत आर्थिक वर्ष आङ्बोले पेश गरेको सम्पती विवरणमा २ करोड ४८ लाख ऋण रहेको समेत उल्लेख गरेका थिए ।

त्यस्तै,भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले करिब साढे ९ विघा जग्गा रहेको विवरण पेश गरेका छन् भने उनको नाममा कृषि विकास बैकको खातामा ४० लाख रुपैयाँ बचत रहेको छ ।

मन्त्री कार्कीको नाममा उदयपुरको त्रियुगा नगरपालिका– २, ७ र ८ का पाँच स्थानमा गरी ९ विघा ८ कट्ठा जग्गा रहेको छ । उनले जग्गाको स्रोत पैतृक सम्पत्ति उल्लेख गरेका छन् भने बचत रकम तलब भत्ताबाट प्राप्त भएको पनि उल्लेख गरेका छन् ।

साथै,उनीसँग १० तोला सुन, ३० तोला चाँदी, दुई वटा भैंसी, कुखुराको फर्म र ३ वटा माछा पोखरी पनि रहेको छ ।

त्यसैगरी,सामाजिक विकास मन्त्री जयराम यादवले काठमाडौँमा घर रहेको विवरण पेश गरेका छन् ।त्यस्तै, काठमाडौंको घरबाहेक मोरङ र काठमाडौंंको ८ स्थानमा पनि जग्गा रहेको उल्लेख गरेका छन् ।

उनको काठमाडौँ महानगरपालिका–३५ मा घर रहेको छ । मन्त्री यादवले २०६९ सालमा घर खरिद गरेको विवरण पेस गरेका छन् भने उनको विराटनगरमा पैतृक सम्पत्ति र घर छ ।

मन्त्री यादवको काठमाडौँको जितपुरमा घडेरी र मोरङको विभिन्न सात स्थानमा जग्गा रहेको विवरण पेस गरेका छन् भने उनिसँग ५१ तोला सुन र ३ किलोग्राम चाँदी समेत रहेको छ ।

त्यस्तै,यादवको परिवारसँग साढे १६ लाख रुपैयाँ बचत छ भने उनले सप्तकोसी पोल्टी फर्ममा २५ लाख शेयर लगानी गरेका छन् । साथै,इटहरीको कन्चनजंगा बोडिङ स्कुलमा यादवको २१ लाख लगानी पनि छ । उनले विभिन्न ८ वटा कम्पानीको शेयर समेत किनेका छन् ।

यादवले ४५ लाख रुपैयाँ ऋण लिएको विवरण पेस गरेका छन् भने गाई भैंसी,पाडा पाडी, बाच्छाबाच्छी, बाख्रा, घरायसी फर्निचर, इलेक्ट्रोनिक्स सामाग्री र बोट विरुवा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

साथै,सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेको नाममा मात्र इटहरीमा १२ धुर घडेरी उल्लेख छ । उनले घडेरीको स्रोत श्रीमानले अमेरिकामा गरेको कमाइ उल्लेख गरेकी छिन् भने उनको १२ तोल सुन र सात लाख रुपैयाँ बचत रहेको पनि विवरण पेश गरेकी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com